
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका, दुम्किबासस्थित विनयी खोलामा बनेको पुल सञ्चालनमा आएको छ । गत वर्ष पौष २६ गते ओभरलोडका कारण भाँचिएको पुल निर्माण पछि आजदेखि सञ्चालनमा आएको हो ।
पुल निर्माणसंगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।
पुल भत्किएको ठाउँमा कल्भर्ट हालेर डाइभर्सन गरिँदै आएको भए पनि खोलामा बाढी आउनेबित्तिकै आवागमन प्रभावित हुँदै आएको थियो।
गत असार ६ गते विनयी खोलाको बाढीले यात्रुवाहक बस बगाएको थियो। उक्त बसमा सवार यात्रुको उद्धार गरिएको थियो भने बस पाँच सय मिटरसम्म खोलाले बगाएको थियो।