
काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरे पछि उनी आज अदालतमा उपस्थित भएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले हिल्टन होटल खरिद गरेको विषयमा नकरात्मक भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । जयवीरसिंहले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । तर, उच्च अदालत पाटनले ५ असारमा पक्राउ तथा धरपकड नगर्नु भनी आदेश गरेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
आज उनीविरुद्ध थुनछेक बहस सकिएको थियो । आजै २५ हजार रुपैयाँ बुझाएर उनी छुट्ने बताइएको छ ।