काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिने भएको छ । आफ्नो पार्टीबाट मन्त्री बनेका सांसदलाई सरकारले बर्खास्त गरेको भन्दै नाउपाले समर्थन फिर्ता लिन लागेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नाउपाका सांसद तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई सरकारबाट बर्खास्त गरेका थिए । चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताइएको छ ।
आफ्नो पार्टीबाट मन्त्री बनेका सांसदलाई बर्खास्त गरेको भन्दै पार्टी संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने बताएका थिए ।
पार्टीसँग कुनै छलफल नै नगरी सुदूरपश्चिममा पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको र अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल नभएका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त नहुने उनको भनाई छ ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन ।