भोजपुरमा एकै परिवारका चार जनाको हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । शनिवार रातीे रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ।

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ।

राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैले प्रहरीलाई फोन गरेका थिए। ‘मैले मान्छे मारे, मलाइ लिन आउनु’ भन्दै प्रहरीको कन्ट्रोलमा फोन गरेको प्रहरी निरीक्षक श्रेष्ठे बताए ।

त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।

अभियुक्त राजेन्द्र राई हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला परेका थिए । उनको पेटमा धारिलो हतियारको चोट छ । सासु आमाले चक्कु प्रहार गरि घाइते बनाए पछि आवेगमा आएपछि चारै जनाको हत्या गरेको उनले बताएका छन् ।

यतिबेला उनी जिल्ला अस्पतालमा उपचाररत छन् । चारै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा लगिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।