बाढीका कारण बिभिन्न जलविद्युत् आयोजनामा क्षति, बिद्युत आपुर्ति बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढीले झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३ ‘ए’र त्रिशूली ३ ‘बी’मा क्षति पुगेका कारण बिद्युत उत्पादन बन्द भएको हो ।

बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको प्रवक्ता राजन ढकालले जानकारी दिए । चिलिमेको टेलरेसमा छिरेको पानी सफा गर्न दुई दिन लाग्ने उनले बताए । त्यस्तै बाढीले त्रिशूली ३ ‘ए’को तीन वटा हेडवर्क्स समेत बगाएको उनले बताए ।

मंगलबार तिब्बत हुँदै रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।