गृहमन्त्री लेखकद्वारा रसुवागढीको बाढीले पुर्याएको क्षति बारे संसदलाई जानकारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले बाढीले पुर्याएको क्षति बारजनाकारी गराएका हुन् ।

सदनमा गृहमन्त्री लेखकले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए । गृह मन्त्री लेखकले उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको जानकारी दिए ।

उनले रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको भन्दै नुवाकोटस्थित विदुरमा त्रिशूलीमा दायाँ खुट्टा नभएको पुरुषको शव फेला परेको तथा वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको बताए ।

मन्त्री लेखकले भरतपुरमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको भन्दै यो सहित २० पुगेको जानकारी दिए । बाढीका कारण करौडौँ बराबरको भौतिक क्षति भएको उनले बताए । उनले बाढीले मितेरी पुल बगाएका कारण आवतजावत पूर्ण रुपमा बन्द भएको र स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको जानकारी दिए ।

त्यस्तै बाढीले सुख्खा बन्दरगाह भन्सारमा २३ वटा ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको मन्त्री लेखकले बताए । बाढीले रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाउनुका साथै संयुक्त जाँच चौकीमा समेत क्षति पुगेको जानकारी दिए । बाढीमा फसेका ३० जनाको हवाई उद्धार गरिएको उनले बताए ।

घटनामा भएको क्षतिको विवरण र खोज उद्धार राहत तथा पुनर्निर्माण गरिने बताए । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको समेत उनले सदनमा जानकारी दिए ।