काठमाडौँ टावरको काम नरोक्न महानगरपालिकालाई उच्च अदालतको आदेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौँ महानगरपालिकाले निर्माणाधीन काठमाडौँ टावरको काम रोकेको भन्दै अदालतले काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

टावरका ठेकेदार मनोजकुमार भेटवालले काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाउँदै रीट दायर गरेको थिए । काठमाडौँ महानगर पालिकाले निर्माणाधीन टावरको नक्सा पास प्रक्रियाबाहिर गएर गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन समिति बनाएको थियो ।

टावर निर्माणका लागि १२ तलाको अनुमति लिएकोमा प्रमुख प्रशासकीयले १९ तलाको अनुमति दिएको भन्दै मेयर बालेन्द्र शाहले गुरागाईँमाथि छानबिन गर्न समिति बनाएका थिए । सोमबार जारी अन्तरिम आदेशमा नक्सा पासको मिति फरक परेपछि भेटवालले मंगलबार त्रुटि सच्याउन निवेदन दिएका थिए ।

उक्त निवेदनमा न्यायाधीश प्रकाश खरेलको इजलासले बुधबार माग बमोजिम त्रुटि सच्याउन आदेश गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।