खोटाङका पूर्व शिक्षा अधिकारीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ९ जना बिरुद्ध मुद्धा दायर गरिएको छ । बिहीबार अख्तियारले ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगको स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनमा कम गुणस्तरको विद्यालय भवन निर्माण कार्य भएको, भवन निर्माण कार्य सम्पन्न नभएको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद भट्टराई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य, तत्कालीन प्रधानाध्यापक हेम्बर बस्नेत, तत्कालीन सव–इन्जिनियर शिवराज राई, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चर्च बहादुर विश्वकर्मा, भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राईविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

आफूहरूलाई लाभ र नेपाल सरकाररसार्वजनिक संस्थालाई हानि पुर्‍याउने बद्नियतले निर्माण सम्झौताको शर्त विपरीत कम गुणस्तरको सामग्री प्रयोग गरी गराई निर्माण कार्य गरे गराएको, निर्धारित मापदण्ड विपरीत कार्य गरे गराएको एवं झुट्टा बिल भरपाई लगायतको कागजात तयार गरी रु। ३० लाख ५० हजार बराबरको रकम भुक्तानी लिए दिएको हुँदा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।