काठमाडौँ । महिनावारी भएका बेला छाउगोठमा रहेकी कञ्चनपुर कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको मृत्यु भएको छ । शुक्रबार साँझ खाना खाएर छाउ गोठमा सुत्न गएकी दमाइलाई सपैले डसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए ।
डिएसपी बोहराका अनुसार शुक्रबार राति छाउगोठमा सुतेका बेला सर्पले डसेको थियो । स्थानीयले राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए ।
आफ्नो पक्की घर हुँदाहुँदै घरभन्दा करिब ३० मिटर टाढा छाउगोठ बनाएर महिनावारी भएका बेला उनी सोही गोठमा सुत्ने गर्थिन् । उनका श्रीमान भारतमा मजदुरी गर्छन् । उनको मृत्यु पछि ससाना बाल बच्चको बिचल्ली भएको कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहन बस्नेतले बताए ।
गत वर्ष वडा कार्यालयले उक्त क्षेत्रमा छाउगोठ भत्काउने अभियान अन्र्तगत ६० जति छाउगोठ भत्काएको थियो । तर छाउ गोठ भत्काएको बेही महिनामै पून गोठ बनाइएको वडाध्यक्ष बस्नेतले बताए ।