पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध

दियोपोस्ट संवाददाता

गुल्मी । पहिरोका कारण गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक आइतबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा र १ नम्बर वडामा पर्ने गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पहिरोले सडक पुरिएकाले सवारी आवागमन ठप्प छन् । जसका कारण लामो तथा छोटो दुरीका यात्रु र स्थानीयवासी प्रभावित भएका छन्।

बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए।

कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ। एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।