किशोरीलाई बलात्कार गरेको आरोपमा बालगृहका अधिकृत पक्राउ

दियोपोस्ट संवाददाता

हेटौँडा । मकवानपुरस्थित कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा बस्दै आएकी १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा बालगृहका अधिकृत पक्राउ परेका छन् । बलात्कार आरोपमा अधिकृत ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

राउत काठमाडौँको काँडाघारी क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित सो बालगृहमा पीडित किशोरी ४ वर्षदेखि बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् ।

अभिभावक गुमाएपछि ति किशोरी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् । तर, हजुरआमाको आर्थिक अवस्था कमजोर भएका कारण उनी उक्त बालगृहमा बस्न थालेकी थिइन् ।

किशोरीले दिएको जाहेरी अनुसार जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले पटक पटक ति बालिकालाई जबरजस्ती करणी गरेका थिए । आफु बलात्कारमा परे पछि ति किशोरीले असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् ।

बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा स्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ।