
काठमाडौँ । सुनसरीमा एक युवतीको गोली हानी हत्या भएको छ । सोमबार बिहान हरिनगर गाउँपालिका-६ महरम चोकमा गफार मियाँकी १८ वर्षीय छोरी अरसी खातुनको हत्या भएको हो ।
बिहान करिब २ः३० बजेतिर खातुनको हत्या गरिएको प्रहरीले बताए । प्रहरीका अनुसार, बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे जानकारी प्राप्त भएको थियो।
अरसीलाई उनकै जेठा भिनाजु २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । अभियुक्त अजाद भारतको पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्दै आएको बताइएको छ ।
घटनालगत्तै उनी फरार छन् । घटनास्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व-दक्षिणमा पर्छ। प्रहरीले फरार अजाद मियाँको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण कार्यालयबाट प्रहरी परिचालन गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा लाग्ने एउटा नपड्केको गोली फेला परेको छ। शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताए ।