भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गर्न संसदहरुको माग

दियोपोस्ट संवाददाता  

काठमाडौं । सरकारले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गर्न संसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्नु पर्ने बताएका हुन् ।

संसदमा विशेष समय लिएर बोल्दै नेकपा एमालेकी सांसद भगवती चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा गएका नेपालीहरुले शारिरीक, मानसिक र कानुनी समस्याहरु झेलिरहेको जानकारी गराउँदै भिजिट भिसालाई रोक्नु भन्दापनि पारदर्शी र व्यवस्थित गरिनु पर्ने जिकीर गरिन् ।

उनले भनिन्, ‘भिजिट भिसामा विदेशिएका नागरिक ठगिएको संख्या बढ्दै गएको छ । भिजिट भिसामा जाँदा दलाललाई लाखौं रकम बुझाउनु पर्ने, भने जस्तो काम नपाउने, कतिपय अवस्थामा शारिरीक तथा कानुनी अप्ठ्यारोमा पर्दा उद्धार गर्न पनि असहजता छ ।’

सांसद चौधरीले यस्ता घटनामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले नै सहजीकरणको जिम्मा लिनुपर्ने बताइन् ।

एक साताअघि यूएईको दुबईमा भएको दोस्रो अन्तराष्ट्रिय महिला सांसद तथा चेन्जमेकर्सको कन्कलेभमा सहभागी हुँदा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँगको भेटघाटमा उनीहरुले भोग्नु परेको सास्ती र पीडा सुन्ने क्रममा अधिकांश नेपालीहरुले तोकिएको काम तथा तलब र सेवा सुविधा नपाएको, दुव्र्यहार सहनु परेको तथा कतिपय महिला पुरुषहरुले कानुनी समस्यामा भोगिरहेको अवगत गराएको सांसद चौधरीले जानकारी गराइन् ।

सांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई ब्यवस्थित र पारदर्शी बनाउन आग्रह गरिन् ।

उनले विदेशमा रहेका नेपाली अविवाहित महिला तथा पुरुषबाट जन्मेका बच्चाहरु नेपाल लैजान समस्या भएको भन्दै सदनको ध्यानाकर्याण गराइन् । ‘नेपालबाट बैदेशिक रोजगारीमा गएका अविवाहित महिला पुरुषहरु बाध्यता, करकाप र घरेलु यौन हिँसाको शिकारमा परेर बच्चा जन्माएका छन् ।

कागजको अभावले अस्पताल जान नसक्ने, जोखिमपूर्ण तवरले घरमै बर्थिङ गर्नुपर्ने तथा स्वदेश समेत फर्काउन नसक्ने परिस्थितिमा यस्ता समस्या समाधानका लागि नेपाल सरकारले मानवीय तथा कानूनी सहायता प्रदान गर्नुपर्ने सांसद चौधरीले उल्लेख गरिन् ।

सिफारिस