सरकारको कार्यशैलीका कारण गणतन्त्र खतरामा छ : प्रचण्ड

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्तमान सरकारका कारण गणतन्त्रमा खतरामा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई विशेष सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले गणतन्त्र खतरामा रहेको बताएका हुन् ।

उनले भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’

माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत राखेको भन्दै उनले गणतन्त्र, संविधान निर्माणदेखि ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धीका विषयमा माओवादी नेतृत्वको योगदान स्मरण गराए ।

प्रचण्डले भने, ‘हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ । जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं । संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ ।’

शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’

 

सिफारिस