
रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट एक महिला मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी छन् । महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्याएको आरोप लागेकी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
परियारले २०७४ साल वैशाख ७ गते रूपन्देहीका २ जना र एकजना प्यूठानकी महिलालाई कुवेत लैजाने भन्दै भारत पु¥याएकी थिइन् । आठ वर्षसम्म फरार रहेकी परियारलाई बुटवल सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
२०७४ सालदेखि हालसम्म फरार रहेकी परियारलाई खोजीकै क्रममा सोमबार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अभियुक्त परियारले राम्रो कामको लागि कुवेत पठाउने भन्दै फकाइ फुलाई महिलालाई भारत पुर्याएकी थिइन् ।
परियारले नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई आश्वस्त पारेको उपरिक्षक कार्कीले बताए । भारतमा पुगेपछि आफूहरूलाई बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंका गरी उनीहरू मानव बेचबिखनको क्षेत्रमा कार्यरत के.आई. नेपालको सम्पर्कमा पुगेका थिए।
उनीहरूलाई २०७४ सालमै के.आई नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतबाट उद्धार गरिएको थियो। नेपाल आएपछि ती महिलाहरूले आफूहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पु¥याएको भन्दै परियारविरुद्ध ८ वर्ष पहिले प्रहरीमा उजुरी दिएका थिए।
उनीहरूको उजुरीपछि परियारको खोजी गरिरहेको प्रहरीले आठ वर्षसम्म उनलाई पक्राउ गर्न सकेको थिएन । पक्राउ परेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी थप अनुसन्धान सुरू गरिएको कार्कीले जानकारी दिए।