पर्सामा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै खानेपानी मन्त्रीद्वारा अनुगमन

दियोपोस्ट संवाददाता

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पर्साका बिभिन्न स्थानको निरिक्षण गरेका छन् । तराई–मधेस क्षेत्रमा खानेपानीको समस्या देखिएको भन्दै आज पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका हुन् ।

तराई–मधेस क्षेत्र विशेष गरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत्कालिन तथा दीर्घकालिन रुपमा समस्या समाधानको उपाय खोज्दै अनुगमन गरिएको बताइएको छ ।

तराई–मधेस सहित वीरगञ्ज क्षेत्रका नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि मन्त्रीद्धयले आज पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री यादवले वीरगञ्ज लगायत तराई–मधेसको खानेपानीको तत्काल एवं दीर्घकालिन समस्या समाधानका लागि आफु सहित सिङ्गो मन्त्रालयको टिम अहोरात्र खटिएको बताए ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि एडिबिको ऋण सहयोगमा रु ४ अर्ब ५० करोड छुट्याइएको जानकारी दिए । उनले तत्काल खानेपानीको समस्या समाधानका लागि विभिन्न स्थानहरूमा डिपबोरिङ जडान गरी खानेपानी वितरणको कार्य आरम्भ गरिसकेको बताए ।

नागरिकले खानेपानीको समस्या भोग्नु परेकाले समस्या पहिचान र समाधानका लागि आफु सहित पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमनका लागि आइपुगेको मन्त्री यादवले जानकारी दिए ।

तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि आफु पूर्ण प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

उनले भने, “नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै समस्याको समाधानका लागि आवश्यक कदम चालिरहेको छ । यस कार्यमा तपाईंहरू सबैको सहकार्य र सहयोग अपेक्षित छ ।”

सो अबसरमा कानुनमन्त्री चौरसियाले पर्सा जिल्लावासीको खानेपानीको गम्भीर समस्याप्रति गहिरो चासो व्यक्त गरे । उनले खानेपानीको पहुँचलाई सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए ।

उनले भने, “वीरगञ्ज महानगरपालिकालगायत पर्सा जिल्लामा पछिल्लो समय जनताले पानीका लागि चरम समस्या भोगिरहेकाले समस्या पहिचान गर्दै तत्काल तथा दीर्घकालिन समाधानका उपाय अवलम्बन गर्न हामी अनुगमनमा निस्किएका छौँ । समस्या समाधान गर्छौँ ।”