
काठमाडौँ । भिजिट भिसामा स्पेन भ्रमण गएर नफर्किएकाहरूबारे छानबिन गर्न समिति गठन भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।
सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको एसएसपी बोगटीले बताए । सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसको छानबिन गर्न निर्देशन दिएका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने निर्णय भएको एसएसपी बोगटीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल असार १४ गते स्पेन भ्रमणमा गई २० गते स्वदेश फर्किएका थिए।