राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री पदमा नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री पदमा नियुक्त भएकी हुन् ।

न्यौपानेलाई मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पदमा नियुक्ति गरेका थिए । एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए। १ करोड ९९ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

न्यौपानेलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।