सुन चोरीको आरोपमा रुपन्देहीबाट तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरस्थित एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । असार २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गहना चोरी गरेको आरोपमा सुनको गहना सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, बुटवल उप-महानगरपालिका वडा नं.१३ का २५ वर्षीय युसुक गुरुङ र बुटवल उप-महानगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरीले कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले बताए ।

पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मङ्गलसूत्र १ थान बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।