भारतबाट चोरी गरि ल्याएको सुन र नगदसहित कालिकोटका ६ जना युवा पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतबाट चोरी गरि ल्याएको १५ तोला बराबरको सुनका गहना र आठ लाख रूपैयाँ नगदसहित ६ जना कोहलपुरबाट पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार दिउँसो होटलको कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्नेहरुमा कालिकोट रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, ४२ वर्षीय तेज बहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की २८ वर्षीय सरिता शाही छन्।

दिल्लीमा काम गर्न भन्दै गएका उनीहरूले आफूहरूले काम गर्ने घरबाट १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रूपैयाँ चोरी गरेर ल्याएका थिए ।

सरिता र अनिता विगत डेढ वर्षदेखि दिल्लीको एक घरमा काम गर्दै आएका थिए। आफुहरुले काम गर्दै आएको घरकी घरधनी महिला बिरामी परेर अस्पताल भर्ना भएको मौकामा चोरी गर्ने योजना बनाई उनीहरूले प्रेम, पंकज, मन बहादुर र तेज बहादुर लाई कालिकोटबाट दिल्ली बोलाएका थिए ।

योजना अनुसार उनीहरु चारैजना दिल्ली गई चोरी गरेर भागेका थिए । अस्पतालमा रहेका सरीता र अनितालाई पनि अस्पतालबाट भगाएर धनगडीस्थित गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए । गौरीफन्टा नाकामा भारतीय रुपैयाँ साटेर उनीहरू आइतबार राती कोहलपुर आई होटलमा बसेका थिए । उनीहरुको कृयाकलाप शंकास्पद लागेर होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरूले लामो समयदेखिको योजना अनुरूप चोरी गरेर भागेर नेपाल आएको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्। प्रहरी उपरीक्षक खनालका अनुसार उनीहरूले भारतमा आफूहरूले काम गर्ने घरबाट गरगहना र नगद चोरी गरेर आएको स्वीकार गरेका छन्।

उनीहरूबाट लाल पत्थर सहित १५ तोला सुनका गरगहना र नगद ७ लाख ८७ हजार नेपाली रूपैयाँ बरामद भएको उनले बताइन् । उनीहरूमाथि मंगलबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन्।

 

सिफारिस