डाना कप-२०२५ मा नेपाल सहभागी हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगिता डाना कप २०२५ मा नेपाल सहभागी हुने भएको छ । औरियम एकेडेमीको नेतृत्वमा तीन टोलीसहित नेपालले सहभागिता जनाउन लागेको हो ।

यसपटक रातो बंगला स्कुलका U12 ब्वाइज र U14 गर्ल्स टोली, संस्कृति इन्टरनेशनल स्कुलको U14 ब्वाइज टोलीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।

यस फुटबल प्रतियोगितामा पहिलो पटक गल्र्स सहभागी हुने भएकाले यो खेल ऐतिहासिक बन्ने बताइएको छ । यो सफलताले केवल रातो बंगला स्कुल र औरियमको गौरव मात्र बढाएको छैन, यसले नेपालको बालिका फुटबलको इतिहासमै नयाँ पाटो कोरेको आयोजकले जनाएको छ।

रातो बंगला स्कुल र संस्कृति इन्टरनेशनल स्कुलले लामो समयदेखि विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएका छन् । उनीहरूको औरियमसँगको सहकार्यले युवा खेलाडीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पर्याउने दिशामा नयाँ ढोका खोलेको छ। प्रतियोगिताको तयारीमा खेलाडीहरूको लगाव, प्रतिबद्धता र मेहनत प्रेरणादायक रह्यो । उनीहरूले दक्ष प्रशिक्षकहरूको नेतृत्वमा शारीरिक, प्राविधिक र मानसिक पक्षहरूमा उच्चस्तरीय प्रशिक्षण प्राप्त गरे।

औरियम एकेडेमी यस सम्पूर्ण यात्राको प्रमुख संयोजक र व्यवस्थापकको भूमिकामा रहेको छ। ‘स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासस्ट फुटबल विकासलाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई ‘एक धरोहर’ को रूपमा अगाडि बढाएको छ ।अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली खेलाडीहरूलाई निरन्तर अवसर दिँदै जानु औरियमको प्रमुख उ‌द्देश्य हो ।

यी टोलीहरू युरोपेली भूमिमा पुग्दा उनीहरू सँगै एक देशको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जाने बताइएको छ । यो सहभागिता केवल एउटा प्रतियोगिता मात्र नभएर नेपालको युवा फुटबलको पुनर्जागरणको संकेत भएको आयोजकले जनाएको छ ।