जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

दियोपोस्ट संवाददाता

काठमाडौं । भूमि सम्वन्धि विधेयकमा आपत्ति जनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको होे ।

जसपा नेपालका प्रमुख सचेतक रेखा यादवका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

यद्यपी, कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताइन् । त्यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग जसपाका नेताहरुले भेटवार्ता भइहेको उनको भनाई छ ।

भेटवार्तामा भूमि विधेयकका अन्तर्वस्तु, सत्ता सहकार्य लगायतबारे छलफल भएको थियो । तर जसपा नेपालले भूमि विधेयकका विषयमा आफ्नो अडान बदल्न नचाहेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको बताइएको छ ।

यस बीचमा जसपालाई सरकारमा समेत सहभागी गराउने बारेमा चर्चा चलेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री ओलीले छलफल समेत अघि बढाएका थिए ।