
काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले सिंहदरबार नजिकै प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ । जनपक्षीय शिक्षा ऐनको माग सहित श्रावण २ गतेको देशव्यापी शैक्षिक हडताललाई सफल बनाउने उद्देश्यले सिंहदरबार नजिकै प्रधानमन्त्री तथा शिक्षामन्त्रीको पुत्ला दहन गरेको हो ।
पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले बुधबार साँझ पुत्ला दहन गरेको अखिल क्रान्तिकारीका डिबी शाहीले जानकारी दिए । संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको आरोपमा पुत्ला दहनसहित मशाल जुलुस गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुसार, राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयासप्रति विरोधस्वरूप यो पुत्ला दहन गरिएको बताइएको छ ।


