धरहरा आजदेखि दैनिक १२ घण्टा खुला रहने

दियोपोस्ट संवाददाता

काठमाडौं । दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुला रहँदै आएको धरहरा आजदेखि १२ घण्टा खुल्ला गरिने भएको छ । सर्वसाधारणको चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय १२ घण्टा बढाइएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ । मन्त्रालयले जानकारी दिएको छ । सार्वजनिक विदाको दिन र शनिबार पनि धरहरा खुल्ला रहने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।

०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई सशुल्क खुल्ला गरिएको धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो बढेपछि समय बढाइएको प्रवक्ता मैनालीले जानकारी दिए ।

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।