भीषण वर्षाका कारण पाकिस्तानमा ६३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

कराँची । पाकिस्तानमा भीषण वर्षापछि पछिल्लो चौबीस घन्टामा ६३ जनाको मृत्यु भएको छ। बुधरबारदेखि निरन्तर परेको वर्षाका कारण घर भत्किँएर, डुबेर र करेन्ट लागेर मृत्यु हुनेको संख्या ६३ पुगेको हो ।

पाकिस्तानस्थित राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा परी २९० जना घाइते भएको भएका छन् । राजधानी इस्लामावाद नजिकैको सहर रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिइएको थियो।

मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्।  चकवाल सहरमा २४ घण्टामै ४०० मिमि वर्षा भएपछि स्थिति गम्भीर भएको छ। उद्धारकर्ताहरू डुंगा र हेलिकप्टरमार्फत बाढीमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् ।

सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको बताइएको छ । पाकिस्तानभर मनसुन सुरु भएयता झण्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन्।

पञ्जाबका विभिन्न क्षेत्रमा बाढीले एक्सप्रेस-वे बन्द गराएका छन् भने दर्जनौं उडानहरू रद्द भएका छन्।

सन् २०२२ मा आएको बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो। त्यतिबेला १ हजार ७०० जनाको मृत्यु भएको थियो भने ३० अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको रिपोर्ट छ।