सरकारी कार्यालय तथा बैंकको किर्ते कागजात बनाउने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिभिन्न सरकारी कार्यालय र बैंकहरुको छाप बनाई किर्ते गर्ने व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौं महानगरपलिका वडा नम्बर १० बस्ने वर्ष ५२ को सफराज खड्कलाई महाराजगंज चोक पक्राउ गरेको हो ।

खड्काले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, सरकारी तथा गैर सरकारी निकायबाट जारी हुने प्रमाण पत्रहरु बनाउने गरेका छन् भन्ने विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।

सिआइबीका अनुसार खड्काको डेराबाट विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रवर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सि.पि.यु १ थान, स्क्यानर १ थान, रबर स्ट्याम्प बनाउने मेसिन १ थान र मोबाईल १ थान बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज सफराज खड्काले बिगत २ वर्ष देखी आफ्नै निजि पसलमा विभिन्न शैक्षिक संस्था त्रिभुवन बिश्वविद्यालय, सिटिइभिटी लगायत सरकारी कार्यालय, मालपोत कार्यालय, नापि कार्यालय, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत तथा राजनैतिक पार्टीहरुको समेत कागजात किर्ते बनाइदिने गरेको पाइएको सिआइबीले जानकारी दियो ।

सिआइबीका अनुसार आरोपी खड्काले नक्कली छाप, लेटरप्याड तथा विभिन्न बैंक तथा वितिय संस्थाहरुको लेटरप्याड, बैंकिङ कारोवारको विवरण र नक्कली रबर स्ट्याम्प, समेत तयार गर्ने गरेको पाईएको छ ।

निजले ह्वाट्स एप तथा भाइवर जस्ता सामाजिक संजाल मार्फत विभिन्न ब्यक्तिहरु संग कुराकानि गरि अडर लिई किर्ते गरेको सामाग्री दिने गरेको पाईएको सिआइबीले जानकारी दियो ।

निज सफराज खड्का विरुद्ध लिखत सम्बन्धि कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।