काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा असार २८ गते बुटवलमा साधारण सभा सम्पन्न भएको हो ।
सभा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरिएको साधरण सभामा सञ्चालक समिति सदस्य, अर्थ मन्त्रालयका प्रतिनिधि तथा अन्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
संस्थापक तथा सर्वसाधारण समूह गरी ६३ जना शेयरधनीको ६२.७८ प्रतिशत शेयर प्रतिनिधित्व रहेको संस्थाले जनाएको छ। संस्थापक समूहबाट ४६ जना शेयरधनीले ६०.५५ प्रतिशत र सर्वसाधारण समूहबाट १७ जना शेयरधनीले २.२३ प्रतिशत शेयरको प्रतिनिधित्व गरेका थिए । सभामा अध्यक्ष कोइरालाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले शेयरधनीहरूका जिज्ञासा र सुझावहरूलाई सम्बोधन गरेका थिए।
सभापछि केही मिडियामा प्रकाशित समाचारप्रति संस्थाले गम्भीर ध्यानाकर्षण जनाएको छ। केही मिडियाले “शेयरधनीलाई सभामा बोल्न दिइएन” भन्ने आरोप लगाएकोप्रति संस्थाले स्पष्ट पारेको छ । शेयरधनीले आफ्नो शेयर प्रमाण वा परिचयपत्र नल्याएको अवस्थामा मात्र सहभागी हुन नपाइने व्यवस्था सूचनामै उल्लेख गरिएका कारण यस्तो गुनासो आएको प्रष्ट पारिएको थियो ।
यसैबिच मर्जर प्रक्रिया सम्बन्धी उठेका विवादको समेत साधारणसभामार्फत खण्डन गरिएको छ । ग्रामीण विकास र समाज लघुवित्तबिचको मर्जर विगत नवौं साधारण सभाको निर्णयअनुसार अगाडि बढाइएको र नेपाल राष्ट्र बैंकबाट पनि प्रारम्भिक स्वीकृति प्राप्त भइसकेको संस्थाको भनाइ छ।
संस्थाले मर्जरसम्बन्धी प्रक्रिया तीनै युनियनसँग समन्वयमा अघि बढाइएको र लेखापरीक्षकको विस्तृत प्रतिवेदनका आधारमा भएको स्पष्ट पारेको छ। कतिपय युनियनले पाँच महिना अघि नै डीडीए स्वीकार गरिसकेको अवस्थामा अन्तिम समयमा आएर विरोध गर्नु पूर्वनियोजित भएको बताइएको छ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सेवा अवधि बढाउन मर्जरको प्रक्रिया अघि बढाइएको भन्ने आरोपलाई पनि संस्थाले खारेज गरेको छ। कटुवालको सेवा अवधि अझै बाँकी रहेको र मर्जरको विषय नियामक निकायको नीतिअनुसार भएकाले यस्तो आरोप आधारहीन रहेको बताइएको छ।
संस्थाले मर्जरपछिको लाभ उल्लेख गर्दै पूँजी वृद्धि, लागत घटाउने, ऋण सीमा विस्तार, कर छुट जस्ता सुविधा शेयरधनी र सदस्यहरूलाई हुने उल्लेख गरेको छ। संस्थाले सबै शेयरधनीप्रति आभार व्यक्त गर्दै तथ्यहीन प्रचारप्रति खेद व्यक्त गरेको छ।