सिरहा कारागारमा कैदी-बन्दीहरूबीच दोहोरो झडप, १३ जना घाइते

दियोपोस्ट संवाददाता  

सिरहा । जिल्ला कारागार सिरहामा आइतबार अपराह्न कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ। झडपमा १३ जना घाइते भएका छन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।

घटनाबारे प्रारम्भिक छानबिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको उनले बताए । कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको बरालले जानकारी दिए ।

क्षमताभन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिरहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो।

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदी बन्दीबिच दोहोरो झडप भएको हो ।