२२ करोड ठगी अरोपमा सेयर कारोबारी अग्रवाल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई सोमबार पक्राउ गरेको हो ।

उनलाई आपराधिक लाभ, ठगी र विश्वासघात कसुरमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनले करिब २२ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएका थिए ।

अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली ्(टीएमएस) खाता चलाउने गरेको पाइएको बताइएको छ । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले सेयर बिक्री गर्थे ।