
काठमाडौँ । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेललाई धपाउन २० जना कर्मचारी नियुक्त गरेको छ । किसानको खेती जोगाउन र मानव वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले बाँदर र बँदेल हेरालुका लागि २० जना कर्मचारी भर्ना गरिएको हो ।
जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका र समूह कोषमा मौज्दात आय राम्रो भएका १० वटा सामुदायिक वन समूह सँगको सहकार्यमा बाँदर र बँदेल हेरालु भर्ना गरेको डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।
उनीहरूलाई सोमबारदेखि नै बाँदर र बँदेलको धेरै आतंक देखिएका गाउँहरू पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङगा, अड्गुरी, खन, अर्घातोष, पटुवाथुममा खटाइएको उनले बताए ।
६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई-दुई जनाको दरले हेरालु राखिएको अधिकृत श्रेष्ठले बताए। हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्च पाउने छन्। शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, फर्सी, कांक्रा, सिमी, बोडी लगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले अन्नबाली जोगाउन विभिन्न उपाय अवलम्बन गरेपनि समाधान नभएपछि हेरालु कर्मचारी नियुक्त गरिएको बताए।
ती कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम समेत दिइएको थियो। हेरालुहरूले आफूले दिनभरी गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन पनि निर्देशन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
गाउँहरूबाट मानिसहरू बसाई सराई गर्ने क्रम बढेपछि खेतीयोग्य जमिनहरू बाँझो पल्टिने र रूख बिरूवा उम्रिएर झाडी बढ्न थालेपछि गाउँहरूमा बाँदर र बँदेलको आतंक बढ्दै गएको छ।