वाइसीएलद्वारा मनोहरा नदीमा अस्थायी तटबन्ध निर्माण कार्य सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)ले मनोहरा नदीमा अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरेको छ । मनोहरा नदी किनारमा बस्दै आएका सुकुम्बासीलाई बाढीबाट जोगाउन भन्दै वाईसीएलले आजदेखि तटबन्ध लगाउन सुरु गरेको हो ।

वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भइरहेको वाईसीएल केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

उनका अनुसार बाँसका भाटाले बार लगाउने र त्योभन्दा पछाडि बालुवा–गिट्टी बोरामा भरेर बाँध बनाउने काम भइरहेको छ । साउन १ गतेदेखि ‘श्रम तथा उत्पादन अभियान’ सुरु गरेको वाइसीएलले आफैं स्रोतसाधन जुटाएर मनोहरामा बाँध बाँध्ने काम गरिरहेको अध्यक्ष ओलीले बताए ।

अभियानको उदघाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । सोही अभियान अन्तर्गत मनोहरा खोलामा बाँध बाध्न लागिएको वाईसीएलले जनाएको छ ।

बाँध बाँध्ने कार्यमा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाईसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) लगायत सहभागी छन् ।

सिफारिस