
नेपालको समाज सदियौंदेखि जातीय विभेद र धार्मिक असमानताले प्रभावित हुँदै आएको छ। यो विभाजनको जरो हिन्दू वर्ण व्यवस्थामा आधारित धार्मिक र सांस्कृतिक संरचनाहरूमा छ । जसका कारण दलितहरू सदियौंदेखि शोषण र अपमानित हुनु परेको छ ।
दलित समुदायले साँचो मुक्ति पाउन र समानताको आधारमा समाजमा आफ्नो स्थान निर्माण गर्न आवश्यक छ । त्यसका लागि धार्मिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक क्षेत्रमा दलितहरुको उपस्थिति हुनु अनिवार्य छ । हिन्दु धर्मको बिरोध गरेर दलित समुदायको मुक्ति हुन्छ भन्ने भावना आजैदेखि त्याग्नु पर्छ । धर्मभित्रको सबै भन्दा कुरुप पक्ष जातीय बिभेद र कुसंस्कार हो । त्यसको अनत्य गर्न दलित समुदायका ब्यक्ति मन्दिरका पुजारी बन्ने वातावरण बनाइनु पर्छ ।
धर्म ग्रन्थ र धार्मिक साहित्य लेख्न, ब्राह्मण पुजारीहरूलाई अस्वीकार गर्न, आफ्ना पुजारी उत्पादन गर्न र ब्राम्हणले मात्रै एकाधिकार जमाएका मन्दिरहरुमा दलित समुदायको प्रतिनिधित्व हुनु सबैभन्दा मुख्य सवाल हो ।
हाम्रो समाज अहिले पनि छुवाछुत जस्तो मानव कलंकको शिकार बनिरहनु पर्ने विषय अत्यन्तै गभिर विषय हो । खासगरि हिन्दु धर्म मान्नेहरुले धर्मकै आडमा जातीय बिभेद जस्तो गंभिर अपराध गरिरहेका छन् । मठमन्दिर, देवालय जस्ता स्थानमा दलितहरुमाथि बिभेद भइरहेको छ ।
धर्मग्रन्थ र धार्मिक साहित्य लेखनमा दलित
ब्राह्मणवादी ग्रन्थहरूले दलितहरूलाई सधैं तल्लो दर्जाको नागरिकको रूपमा चित्रण गरेका छन् । मनुस्मृति, बेद, धर्मशास्त्र र अन्य ग्रन्थहरूले दलितहरूलाई सेवा गर्ने र सधैंको लागि उच्च जातको अधीनमा रहने आदेश दिएका छन् । यी ग्रन्थहरूले दलितहरूको आत्मसम्मान, पहिचान, र अधिकारलाई पूर्ण रूपमा नकारेका छन् ।
त्यसका लागि दलित समुदायले वेद अध्ययन र धार्मिक साहित्य लेखनमा दलित समुदायले आफ्नो सहभागिता बढाउनु पर्छ । आफ्नै वेद र साहित्य लेखेर दलितहरूले आफ्नो सांस्कृतिक र धार्मिक इतिहासलाई पुनर्लेखन गर्न सक्न्नु पर्छ ।
भारतमा डा. भीमराव अम्बेडकरले आफ्नो पुस्तक ‘The Annihilation of Caste’ मा ब्राह्मणवादी संरचनालाई नकार्न र नयाँ सांस्कृतिक आन्दोलनको आवश्यकता बताउनुभएको छ। त्यस्तै, नेपाली दलितहरूले पनि समानताको आदर्श बोकेका नयाँ ग्रन्थहरू लेख्नुपर्छ, जसले सबैलाई समान दृष्टिले हेर्ने आधार निर्माण गरोस् ।
ब्राह्मण पण्डित र पुजारीको परित्याग
ब्राह्मण पुजारीहरूले दलितहरूमाथि धार्मिक विभेदलाई संस्थागत गराएका छन् । अधिकांश मन्दिरहरूमा दलितहरूको प्रवेश निषेध छ । पूजा गर्न खोज्दा उनीहरूले अपमान सहनुपर्छ । धार्मिक विधिहरू दलितहरूको निम्ति निषेध हुनु भनेको उनीहरूको आध्यात्मिक अधिकार हनन हो ।
आफ्नै पण्डित नभएका कारण दलितहरुले बिभिन्न धार्मिक संस्कारका कार्यमा ब्राम्हण पण्डितको भर पर्नु परेको छ । कतिपय स्थानमा त ब्राम्हण पण्डितले धार्मिक संस्कारका कार्यमा बोलाउँदा अपमान गर्ने गरेका घटना प्रशस्तै छन् । त्यसका लागि दलितहरुले आफ्नै पुजारी उत्पादन गरेर धार्मिक संस्कारमा भएको बिभेद अन्त्य गर्न सक्छन् ।
आफुमाथि भएको बिभेदको अन्त्यका लागि दक्षिण भारतका केही राज्यहरूमा समेत दलित पुजारीहरू उत्पादन गर्न प्रयास गरिँदैछ। तमिलनाडुमा दलित पुजारीहरूको प्रशिक्षण कार्यक्रमले केही सफलता पाएको छ। यस्तै उदाहरण नेपालमा पनि अपनाइनुपर्छ। दलित पुजारीहरूले आफ्नै समुदायका लागि पूजा सञ्चालन गरे मात्र धार्मिक समानताको मार्ग खुल्नेछ।
सार्वजनिक मन्दिरमा दलितको सहभागिता सुनिश्चित
मन्दिरहरू केवल धार्मिक स्थल मात्र होइनन्, तिनीहरु सांस्कृतिक र सामाजिक केन्द्र पनि हुन्। तर नेपालमा अधिकांश मन्दिरहरू दलितहरूका लागि निषेधित छन् । यो अपमानको अन्त्य गर्न दलित समुदायले मठ मन्दिर र देवालयहरुमा आफ्नो स्थान सुरक्षित गर्नु पर्छ ।
त्यससंगै दलितहरुले आफ्नै मन्दिर निर्माण गर्नु पर्छ । भारतको महाराष्ट्रमा “दलित बुद्ध विहार” स्थापना गरेर अछूत भनिएका समुदायले आत्मसम्मान प्राप्त गरेका थिए। त्यस्तै, नेपालमा दलितहरूले आफ्ना मन्दिरहरू निर्माण गरी धार्मिक र सांस्कृतिक पहिचान स्थापना गर्नुपर्छ। यी मन्दिरहरूले सबै जातजातिका मानिसहरूलाई स्वागत गर्ने समानताको उदाहरण प्रस्तुत गर्न सक्दछन्।
आत्मनिर्भरता र सामाजिक एकता
दलित समुदायलाई धार्मिक, आर्थिक, र सामाजिक रूपमा आत्मनिर्भर बन्नु नै साँचो मुक्ति हो। शिक्षामा लगानी, आर्थिक सशक्तीकरण, र सामाजिक एकता मार्फत दलितहरूले आफूलाई शक्ति सम्पन्न बनाउन सक्छन्।
नेपालको तराई क्षेत्रमा रहेका मुसहर समुदायले कृषिमा आधारित सहकारी संस्थाहरू स्थापना गरेर आर्थिक सशक्तीकरणको मार्ग अपनाएका छन्। यस्ता कदमले दलित समुदायलाई दान वा सहयोगमा निर्भर हुनबाट मुक्त गर्दछ।
राजनीतिक एकता र सशक्तीकरण
राजनीतिक रूपमा विभाजित दलित समुदायले कहिल्यै पनि सशक्त रूपमा आफ्नो अधिकार सुरक्षित गर्न सक्दैन। डा. अम्बेडकरको नेतृत्वमा भारतमा दलित आन्दोलनले समान अधिकार प्राप्त गरेको थियो। त्यसैगरी, नेपालमा दलित नेताहरूले एकताबद्ध भएर नीति निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्छ।
समाजमा समानता र न्यायको स्थापना
दलितहरूले आफ्ना वेद लेख्ने, आफ्ना पुजारी उत्पादन गर्ने र मन्दिर निर्माण गर्ने अभियानले नेपाली समाजमा समानता र न्यायको नयाँ युग सुरु गर्न सक्छ। यसले न केवल दलितहरूको आत्मसम्मान बढाउनेछ, तर जातीय विभाजनलाई पनि अन्त्य गर्नेछ।
निष्कर्ष
नेपाली दलित समुदायले आफ्नो मुक्तिको खाका आफैंले कोर्नु पर्छ । यसको लागि उनीहरूले परम्परागत धार्मिक संरचनालाई अस्वीकार गर्दै नयाँ सांस्कृतिक र आध्यात्मिक आन्दोलन सुरू गर्नुपर्छ। आफ्नै वेद लेख्न, पुजारी उत्पादन गर्न, मन्दिर निर्माण गर्न, र आर्थिक तथा राजनीतिक रूपमा सशक्त बन्ने बाटो मात्र साँचो मुक्ति हो।
दलित मुक्ति भनेको कुनै दान होइन, यो दलित समुदायले आफ्नै प्रयास र परिश्रमले प्राप्त गर्नुपर्ने अधिकार हो। यस अभियानले मात्र नेपाली समाजलाई न्याय, समानता, र सम्मानको नयाँ युगमा प्रवेश गराउन सक्छ।