मधेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको बताए ।

मधेस प्रदेशका जिल्लाहरूमा यो वर्ष अनावृष्टिका कारण जमिनमा पानीको कमीले सुख्खाग्रस्त अवस्था छ । मधेशमा भूमिगत पानीको मुहानको चरम अभाव हुनका साथै नदी तथा पोखरीमा समेत पानी सुकेको छ । जसका कारण मधेस प्रदेशका आठवटै जिल्लामा खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेकाले प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सरकारले जनाएको छ ।

अव सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को उपदफा १ बमोजिम राजपत्रमा सूचना प्रकाशित गर्नेछ । उक्त सूचना प्रकाशित भएको मितिले ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेछ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम ३ महिनाको लागि मधेश प्रदेशभर विपद् जोखिम संकटग्रस्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए ।