काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको छ । नेपाली राहदानीबाट विमानस्थलबाट नक्कली एनओसी लिएर कुवेत जान लागेका उनीहरुलाई बिमास्थलबाटै फर्काइएको हो ।
उनीहरुलाई दिल्ली विमानस्थलबाट नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
दूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले उनीहरुलाई नपोल फर्काउन पहल गरेका थिए । महिलाहरूलाई दिल्लीबाट सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
राजदूतावासका अनुसार गैरकानुनी रूपमा विदेश जाने नेपालीको संख्या बढ्दै गएको छ । दुतावासले नेपाल सरकारको नीतिअनुसार पासपोर्ट, भिसा र एनओसी जस्ता कागजात देखाएर मात्र विदेश जान आग्रह गरेको छ ।
गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइदैछ ।
