
काठमाडौँ । गैरकानूनीरूपमा इरान गएर जेल परेका ५ जना नेपाली नागरिकलाई नेपाल ल्याइएको छ । इरानको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनीहरुलाई बिहीबार काठमाडौँ ल्याइएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन आईओएम को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ।
यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ।
द्वन्द्वकै क्रममा नेपाल सरकारले भारत सरकारसँग गरेको आग्रहअनुसार अपरेशन सिन्धुु अन्तर्गत भारतबाट सञ्चालित उद्धार उडानमार्फत तीन चरणमा नौ जना नेपालीहरूलाई पनि सुरक्षित उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ।
उद्धार तथा समन्वयको सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने भारत सरकार, इरान सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतलगायतप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ।