बागमती सरकारमा पहिरो, चार मन्त्रीले दिए राजीनामा

दियोपोस्ट संवाददाता

हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा सामेल भएका ८ जना मध्ये चार जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएको बतायएको छ । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ ।