
काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्नका लागि राज्यलाई दबाव दिन भन्दै कपाल मुण्डन गरि आजदेखि सत्याग्रह सुरु गरेका हुन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
यसका लागि उनले सात बुँदे माग राखेका छन् । उनी सेतो कपडा लगाएर परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् ।
‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत उनले साथमा राखेका छन् ।
स्थानीयलाइ स्वरोजगार र आत्मनिर्भर बनाउने हाम्रो अभियान, भ्रष्ट्रचारमुक्त संस्कृतियुक्त नगरमा सबैको आत्मसम्मान भन्ने मुल नाराका साथ उनले आफ्नो अभियान संचालन गर्दै आएका थिए ।