
काठमाडौं । भ्रष्टाचारमा मुछिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अख्तियारमै उजुरी दर्ता भएको छ । उनीविरुद्ध अख्तियारको कार्यालयमा आइतबार ‘सी–००३४९८’ नम्बरमा उजुरी दर्ता भएको हो ।
राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरिएको छ ।
गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो ।
सिन्धुली कमलामाईका युवराज पौडेलले राई बिरुद्ध उजुरी दर्ता गरेका हुन् । पौडेलले उजुरीमा भनेका छन्, ‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।’
आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै पौडेलले तामेलीमा राखिएको फाइलमाथि फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका केही आरोपितहरुले आफूहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएको भनी बयान गरेका थिए । तर प्रहरीले अख्तियार प्रमुख राईमाथि कुनै अनुसन्धान गरेको थिएन । उजुरीकर्ता पौडेलले त्यो घटनामा पनि अख्तियार प्रमुख राईमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।