एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा, यस्तो छ कारण !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायत विषयमा ब्यापक असन्तुष्टि देखिएका कारण राजीनामा दिएका हुन् ।

आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलन आयोजना गरि प्रहरीले राजीनामा दिएको बिषयमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएको बताइएको छ ।

कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएका कारण सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो ।

जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।