
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्ष बाहिर बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका बिद्यार्थीले धर्ना दिएका छन् । बिश्वबिद्यालयले चर्को शुल्क लिएको भन्दै शुल्क घटाउने माग राख्दै बिद्यार्थीले चार दिनदेखि धर्ना दिएका हुन् ।
त्रिवि अखिल क्रान्तिकारीको कामु अध्यक्ष शिवराज भट्टले चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क नघटाइएको बताए । उनले चारदिनदेखि चौबिसै घण्टा धर्ना दिएको भएपनि आफ्ना माग सम्बोधन नभएको बताए ।
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो ।
प्राइभेट कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा ल्याइएको भएपनि शुल्क नघटाइएको उनले बताए । आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ ।
धर्ना दिएर उपकुलपति अर्यालको कामकाजमा भने अवरोध नगरेको तर रेक्टर र रजिस्ट्रारलाई प्रवेश निषेध गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
अखिल क्रान्तिकारीले नै शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाललाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको अखिल क्रान्तिकारीले जनाएको छ ।