महेन्द्रनगरस्थित माओवादी नगर कमिटी सदस्य र बिद्यार्थी इन्चार्जबीच पार्टी कार्यालयमै कुटाकुट

दियोपोस्ट संवाददाता

कञ्चनपुर । महेन्द्रनगरस्थित नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँझ कुटाकुट भएको छ । महेन्द्रनगरस्थित पार्टी कार्यालयमा छलफलकै क्रममा दुई जनाबीच कुटाकुट भएको हो ।

कुटपिटबाट भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्ट पनि सामान्य घाइते भएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए । उनी प्रहरी निगरानीमै छन् ।

अखिल क्रान्तिकारीको छलफल भइरहेका बेला पूर्व रिसिइबी पोखेर विष्टले भट्टमाथि आक्रमण गरेको माओवादी केन्द्र कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार नेकपा माओवादी केन्द्रले पनि विष्टलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।