
काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ अपचलन भएको निश्कर्ष निकालेको छ । बैंक सञ्चालक समितिका ३ जना अध्यक्ष र पदाधिकारीहरू मिलेर सो बैंकको रकम अपचलन गरेको सीआईबीले निष्कर्ष निकालेको हो ।
सिआइबीले अनुसन्धान पूरा गरी निश्कर्षसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। सिआइबीले १ सय ८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई सुझाव समेत दिएको छ ।
बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् । प्रहरीले १०४ जनालाई फरार कायम गर्न सिफारिस गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंक बाँकेको नेपालगन्जमा सञ्चालित छ । बैंक घोटालाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा नेतृत्वको टोली नेपालगन्ज गएको थियो ।