सिन्धुलीको गोलन्जोरबाट बेपत्ता भएका हायु परिवार पोखरामा भेटिए, प्रहरीले लगायो आफन्तको जिम्मा

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायु परिवारका १६ जना पोखरामा भेटिएका छन् । वेपत्ता भएको जानकारी पाए लगत्तै खोजतलासमा जुटेको प्रहरीले उनीहरुलाई सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा फेला पारेको थियो ।

फेला पारे लगत्तै आवश्यक सोधपुछ पछि प्रहरीले हायु परिवारलाई उनीहरुकै परिवारलाई आफन्तको जिम्मा लगाएको छ । उनीहरुलाई धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको प्रहरीले् जनाएको छ । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको बताइएको छ ।

हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए ।

उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले छोडेर हिँडेको र नफर्किने बताएका थिए ।