काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११ औं महाधिवेशनले आइसिसी सदस्यसहित १३ सदस्यीय कार्य समिती सर्वसम्मत रुपले निर्वाचित गरेको छ । आइतवार भएको निर्वाचनले दिलिप गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपले सन २०२५-२०२७ का लागि कार्यसमिती चुनेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, उपाध्यक्ष सरोज अधिकारी, महिला उपाध्यक्ष विष्णु कुमारी तिमल्सिना, महासचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष समिक्षा थापा निर्वाचित भएका छन ।
त्यसैगरी सह(कोषाध्यक्ष श्रवण कुमार मैनाली, सचिव जित कुमार विश्वकर्मा, महिला प्रतिनिधि किरण चालिसे छन । सदस्यहरुमा विष्णुहरी दवाडी, दीपेन्द्र लामा, शान्ती गुरुङ र सुनिला लामा छन ।
अन्तर्राष्टृय समान्वय परिषद ९आइसिसी० सदस्यमा शिवराम भण्डारी निर्वाचित भएका छन । सन २०२५-२०२७ कार्यकालका लागि पदाधिकारीको निर्वाचन सम्पन्न गर्न एक स्वतन्त्र निर्वाचन समिती र अर्को निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिति गठन गरिएको थियो ।
निर्वाचन समितिले एनआरएनए केन्द्रिय विधानको पालना गर्दै एनआरएनए फ्रान्सको विधान अनुरुप निर्वाचन तालिका घोषणा, पन्जिकृत सदस्यहरुको नामावली माथि जाँचबुझ, उम्मेदवारी घोषणाको आव्हान, ति उम्मेदवारहरुमाथी दाबी बिरोध लगायतका सम्पूर्ण बैधानिक प्रावधानहरु लिखित रुपमा सार्वजनिक गरेको थियो ।
१३ सदस्यीय कार्यकारी समिती र आइसिसी सदस्यको एक पदकालागि आव्हान गरिएको उम्मेदवारीमा तोकिएका पदमा कसैको पनि दाबी बिरोध नपरेपछी निर्वाचन समितिले सर्वसम्मत कार्यकारी समिती बिजयी भएको घोषणा गरेको थियो ।
निर्वाचन प्रकृयाको अनुगमन गर्न खटिएको समितिले निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको घोषणा गरेको थियो ।
निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगबाट पुरा गर्न एनआरएनए फ्रान्सले ददि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरेको थियो । जसमा सदस्य सचिव ओम गौचन र सदस्यहरुमा जिता कटुवाल, नन्द थेबे र आभाष आचार्य थिए ।
ददि सापकोटा लेखक र पत्रकार हुन भने ओम गौचन म्याग्दी समाज फ्रान्स (मोना फ्रान्स) का अध्यक्ष, जिता कटुवाल नेपाली एकता समाज फ्रान्सकी अध्यक्ष, आभाष आचार्य ईनास फ्रान्सका अध्यक्ष र नन्द थेबे नेपाली सांस्कृतिक गृह, फ्रान्सका अध्यक्ष हुन ।
त्यसैगरी एनआरएनए फ्रान्सले निर्वाचन निस्पक्ष र स्वतन्त्र ढंगले पुरा गर्न एनआरएनए फ्रान्सकी संस्थापक सदस्य अनुराधा पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिती पनि गठन गरेको थियो । यस समितिका अन्य सदस्यमा हरी प्रसाद सापकोटा र गोर्खाली समाज, फ्रान्सका अध्यक्ष संजिव देवकोटा थिए ।
महाधिवेशनमा नेपाली सांस्कृतिका गृह, फ्रान्स नेपाली जनसंपर्क समिति, म्याग्दी समाज, राष्टृय स्वतन्त्र पार्टी, ईनास फ्रान्स, गोर्खाली समाज, नेपाली जन प्रगतिशील मञ्च लगायत अन्य संघसंस्थाका प्रतीनिधिहरुले शुभकामना दिएका थिए ।
आइतवार भएको महाधिवेशनका लागि फ्रान्सस्थित गैर आवासीय नेपालीका आधा दर्जन भन्दा बढी संस्थाका नेत्तृवकर्ताहरुले साथ र समर्थन जनाएका थिए । गैर आवासीय नेपाली संघ फ्रान्समा पाँच सय ८० जना सदस्य बनेका छन ।
