जनकपुरधाममा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

दियोपोस्ट संवाददाता  

धनुषा । जनकपुरधाम उपमहानगरपालिका, वडा नं.४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ । धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटनामा कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीय छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अञ्चलीकी आमा ३६ वर्षीय आशा यादव र आशाकी १५ वर्षीय भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए ।