ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ, १२ करोडभन्दा बढी ठगी गरेको आरोप

दियोपोस्ट संवाददाता

काठमाडौँ । रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्दै आएका ४२ वर्षीय सविन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका उप्रेतीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनलाई साउन १३ गते दिउँसो करिब ४ बजे दधिकोटस्थित घरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

भीम बहादुर कार्की लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) सम्बन्धी मुद्दामा उप्रेती फरार रहेका थिए ।