काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीबाट राजीनामा दिएका हुन् ।
उनले बिज्ञप्ती मार्फत राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गरेको बताएका छन् । पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेको भन्दै सुधारको कुनै सम्भावना बाँकी नरहेपछि राजीनामा दिनु परेको विज्ञप्तिमा उल्लेख छ ।
उनले राप्रपामा वर्तमान नेतृत्वले पार्टीलाई विधि विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको उनको भनाई छ ।
पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु र लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनले बताएका छन् ।
उनले पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताएका छन् । उनले भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा लाग्नेहरुसँग साझा प्रयासमा सहकार्यको अपेक्षा रहेको समेत बताएका छन् ।