काठमाडौं । बृहत् नागरिक आन्दोलनले सुकुम्बासी व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था तथा अभियन्तामाथिको पक्राउ र कुटपिटप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको आलोचना गरेको छ।
आन्दोलनले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदादेखि नै सुकुम्बासीप्रति असंवेदनशील व्यवहार गर्दै आएको आरोप लगाइएको छ।
विज्ञप्तिअनुसार खोलाको किनारमा बसोबास गर्ने सुकुम्बासीलाई पर्याप्त तयारी र विकल्पबिना कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको र डुबानपछि उनीहरूको अवस्था बुझ्न पुगेका अभियन्ता माजिद अन्सारी, सरिश्मा थापा तथा अन्य केही जेन जी अभियन्तालाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको दाबी गरिएको छ।
पक्राउ परेका माजिद अन्सारीको कानुनी अवस्थाबारे अन्योल सिर्जना गरिएको विज्ञप्तिमा आरोपसमेत लगाइएको छ। बृहत् नागरिक आन्दोलनले सरकारले न्यूनतम मानवीय संवेदना देखाउन नसकेको तथा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा संलग्न भएको आरोप लगाउँदै सुशासनको नारासँग सरकारको व्यवहार नमिलेको जनाएको छ।
आन्दोलनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई पर्याप्त खाना र पानीको व्यवस्था नगरेको आरोप पनि लगाएको छ। सुकुम्बासी बस्ती हटाइएपछि उत्पन्न संकटका कारण नौ जनाको असामयिक मृत्यु भएको दाबी गर्दै सरकारले उनीहरूको जीवन सुरक्षाका लागि आवश्यक कदम चाल्नुको सट्टा होल्डिङ सेन्टरमा निरंकुश र स्वेच्छाचारी व्यवहार प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख छ।
होल्डिङ सेन्टर पुगेका अभियन्तामाथि धरपकड, कुटपिट तथा कानुनी अवस्थाबारे अन्योल सिर्जना गरी मानसिक प्रताडना दिइएको भन्दै आन्दोलनले त्यसको भर्त्सना गरेको छ।
बृहत् नागरिक आन्दोलनले भूमि तथा आवासविहीन नागरिकको तत्काल उचित व्यवस्थापन गर्न, पक्राउ परेका अभियन्ताको कानुनी अवस्थाबारेको अन्योल अन्त्य गरी रिहा गर्न तथा नागरिकका लागि रोजगारी र जीविकोपार्जनको वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ। आफ्ना मागको सुनुवाइ नभए सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
