केरा खेतीले दियो नसोचेको सफलता

दियो पोस्ट  

म्याग्दी ।  केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटाले बताए । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।