
काठमाडौं । फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो ।
‘क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने ‘नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी बताइएको छ ।
आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले भने, ‘क्लासिक फिटनेस एकेडेमीले गर्वका साथ नेपाल फिटनेस एक्स्पो घोषणा गरेको छ । जुन नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो ।’
यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए ।
यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्य राखेको जानकारी दिँदै उनले एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने जानकारी दिए ।
‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो । फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ संस्थापक शाहीले भने ।
उनका अनुसार एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ ।
भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने भएका छन्, जसले एक्स्पोलाई अझ विशेष बनाउने छ ।
फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निस्शुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।
यो एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ ।
करिब तीन हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोमा फिटनेससँग चासो राख्नुहुनेहरू, प्रशिक्षक, खेलाडी, व्यवसायी र विभिन्न ब्राण्डका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ ।
एक्स्पोका आकर्षणहरू
शैक्षिक सेमिनार र कार्यशालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी आइकनहरूसँग ‘मिट एण्ड ग्रेट’ सेसनहरू यो एक्स्पोका मुख्य आकर्षणहरू हुन् ।
यस्तै, फिटनेस स्टलहरू र व्यापार प्रदर्शनी जस्तै फिटनेस गियर र उपकरण, पोषण पुरक उत्पादनहरू, हेल्थटेक इन्नोभेसन र नेपालका अग्रणी जिमखाना र फिटनेस केन्द्रहरूको सेवाबारे जानकारी पनि एक्स्पोको आकर्षणका रूपमा रहेका छन् ।
एक्स्पोका प्रमुख उद्देश्यहरू
नेपाली फिटनेस उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु, स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबीच साझेदारी र लगानीको अवसर सृजना गर्नु, फिटनेस, स्वास्थ्य र जीवनशैलीको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो ।
यो एक्स्पोमा प्रदर्शनी मात्र नभई फिटनेस शो, योगा, डेमो ट्रेनिङ र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिँदै छ, जसले सम्पूर्ण इभेन्टलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
‘नेपाल फिटनेस एक्स्पो नेपाली फिटनेस उद्योगका लागि एक ऐतिहासिक अवसर हो । यसले व्यवसाय, स्वास्थ्य र अन्तर्राष्ट्रिय पहुँचलाई एउटै मञ्चमा ल्याउनेछ,’ संस्थापक शाहीले भने । नेपालमा फिटनेस भन्नेवित्तिकै आम मानिसको मानसपटलमा ‘बडी बिल्डर’हरूको मात्रै चित्र आउने गरेको भन्दै उनले स्वस्थ जीवन जिउनु नै फिटनेस भएको स्पष्ट गरे ।
एक्स्पोमा के–के हुँदैछ ?
यो एक्स्पोमा नेपालमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने छ । फिटनेससँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरूका साथै फिटनेस ‘लभर’हरूलाई लक्षित गरेर पनि विभिन्न गतिविधिहरू गरिने छ ।
विभिन्न स्टलसहितको यो ठूलो इभेन्ट हो, यसबाट हामी आयोजक उत्साहित छौँ । इभेन्टलाई राम्रो, रमाइलो र पारिवारिक बनाउन मल्ल होटेल रोजिएको हो ।
किन हुँदैछ फिटनेस एक्स्पो ?
नेपालमा फिटनेसमा मार्केट धेरै ग्रोइङ भइरहेको छ । तर, बिजनेसवाइज हेर्ने हो भने स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू, प्रोटिन सप्लिमेन्ट, इक्वेपमेन्टहरू मान्छेले भन्नेवित्तिकै किन्न पाइरहेका छैनन् । त्यसका लागि हामीले यो इभेन्ट आयोजना गर्नुपरेको हो ।
काठमाडौंमा ३०० को हाराहारीमा जिम सेन्टरहरू खुलिसकेका छन् । तर, आधिकारिक प्रोटिन सप्लिमेन्ट भने नेपालभरिमा जम्मा सातवटा मात्रै छन् । उनीहरूलार्इ पनि इभेन्टमा इन्डोर्स जनाइएको छ ।
यो इभेन्टमा नयाँ फिटनेस सेन्टर खोल्न चाहाने, ट्रेडमिल, क्रसप्रेनर वा फिटनेससँग सम्बन्धित कुनै बिजनेस गर्न मन भएकाहरूलाई हामी ‘मिट एण्ड रिड’ गराउँछौँ । यसका साथै भिजिटरहरूले विभिन्न स्टलका सामान हेर्न र छनोट गर्न पाउनेछन् । अहिलेसम्मको अवस्थालाई हेर्दा हामीले प्लान गरेको भन्दा पनि यो इभेन्ट बिग हुनेवाला छ ।
यो इभेन्ट भिजिट गर्न आउनुहुनेहरूलाई हामी खाली हात नपठाउने आयोजकले जनाएको छ । त्यसका लागि फरक–फरक खालका क्रियाकलाप र खेलकुदका सेगमेन्टहरू राखिने छ ।
फेसन शो र अन्य वर्कसपहरू पनि हुन गइरहेको छ । जसले इभेन्टको माहोललाई रमाइलो बनाउने अपेक्षा आयोजकले गरेको छ ।
जिम सेन्टर खोल्ने प्लान बनाइरहेका, नेपालमै वा विदेशका लागि पनि ट्रेनर बन्न मन भएकाहरू र सप्लिमेन्टको व्यापार गर्न मन छ वा काठमाडौं उपत्यकाबाहिरबाट आएर काठमाडौंमा बसेर यो क्षेत्रमा केही गर्ने सोच बनाएकाहरूलाई ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ अतिउपयोगी हुने शाही बताउँछन् ।